काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिद दर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा तोकिएको छ । बेलायती मुद्रा पाउन्ड स्टर्लिङ एकको खरिद दर १९४ रुपैयाँ ७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
डलरको मूल्य बढ्दा नेपालमा विदेशबाट आयात हुने वस्तुको मूल्य बढ्छ । यसो हुँदा डलरको मूल्यवृद्धिबाट आम उपभोक्तामाथि व्ययभार थपिन्छ । सरकारले विदशी ऋणको साँवा ब्याज डलरमा भुक्तानी गर्नुपर्ने हुँदा नेपाली मुद्रामा सरकारी ऋणको साँवाब्याज दायित्व बढी हुन जान्छ । त्यसैगरी विदेशबाट आयातित सामान प्रयोग गर्ने परियोजनाहरुको लागत बढ्छ । ट्राभल एजेन्सी, निर्यात गरेर आम्दानी लिने व्यवसायी र पर्यटक स्तरका होटलहरु भने डलरको मूल्य बढ्दा लाभान्वित हुन्छन् । विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने परिवारले पनि डलरको मूल्य बढेका बेला बढी रकम हात पार्छन् ।









