काठमाडौं– नेपाल आयल निगमले भोलि (बिहीबार) देखि आधा भरिएका ग्यास सिलिन्डर मात्रै बजारमा पठाउने भएको छ । नेपालमा खाना पकाउने ग्यास आपूर्तिमा समस्या भइरहेकै बेला अमेरिका र इरानबीच युद्ध सुरु भई हर्मुज जलमार्गबाट हुने तेल र ग्यास आपूर्तिमा अवरोध आउँदा भएपछि निगमले यस्तो निर्णय गरेको हो ।

निगमले आवश्यकता भन्दा बढी ग्यास थुपारेर राख्ने प्रवृत्तिका कारण बजारमा अभाव जस्तो अवस्था देखिएकोले यस्तो कदम चालेको जनाएको छ ।

विश्वव्यापी रुपमै इन्धन संकटको अवस्था आउन सक्ने अनुमान गरिएका बेला सबै उपभोक्ताले ग्यास पाउन सकून् भनेर सिलिन्डरमा ७ दशमलव १ केजी मात्रै ग्यास भरेर पठाउने व्यवस्था मिलाएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

आधा मात्र ग्यास भरेको सिलिन्डरको मूल्य पनि आधा नै तोकिएको छ । पूरा भरेको सिलिन्डको मूल्य १ हजार ९१० रुपैयाँ छ । आधा तौलको सिलिन्डरको मूल्य ९५५ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

निगमले बिहीवार जारी गरेको प्रेस विज्ञप्तिमा फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म प्रत्येक सिलिन्डरमा ७ दशमलव १ केजी एलपी ग्यास भरेर आधा मूल्यमा विक्री वितरण गरिने उल्लेख छ ।

विगत दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग अस्वाभाविक रूपमा बढेको निगमको भनाइ छ । यसअघि २०७२ सालमा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको बेला पनि निगमले ग्यास आपूर्ति सहज बनाउन आधा तौलका सिलिन्डर वितरण गरेको थियो ।

पश्चिम एशियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको अन्तर्राष्ट्रिय आपूर्तिमा असर परेको र भारतमा समेत उपभोक्ताले ग्यास पाउन कठिनाइ हुन थालेपछि नेपालमा आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ । निगमका अनुसार हाल नेपालभर करिब १ करोड ५० लाख सिलिन्डर प्रचलनमा छन् ।

निगमका अनुसार मासिक रूपमा नेपालमा भारतबाट ५० हजार ३०० मेट्रिक टन ग्यास आउने गरेको छ । फागुन २६ सम्म साढे ४५ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ । नेपालको कुल खपत भने मासिक करिब ४५ हजार टन रहेको निगमको भनाइ छ ।

निगमका अनुसार भारतबाट यसअघि दैनिक औसत ९५ बुलेट ग्यास आउँथ्यो । निर्वाचन अघिसम्म दैनिक औसतमा ११२ बुलेट आइरहेका थिए । अहिले १०५ देखि ११० ओटासम्म आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय