काठमाडौं– जिल्ला अदालतले काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्रने अनुमति दिन इन्कार गरेको छ ।
जाहेरी र त्यससम्बन्धी सक्कल फाइल नै उच्च अदालत पाटन पुगेको भन्दै जिल्ला अदालत काठमाडौंले पूर्जी जारी अस्वीकार गरेको हो ।
एमाले नेता महेश बस्नेतविरुद्ध २६ परिसर ५८ सांकेतिक नाम भएकी युवतीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । भ्रुण हत्या, बलात्कार र चोरी डाँका मुद्दामा प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि ती युवतीले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएकी थिइन् ।
जाहेरीका आधारमा अनुसन्धान नै अघि नबढाई सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरेको थियो ।
त्यसपछि ती युवतीले अर्को पूरक जाहेरी दिएकी थिइन् । तर आफ्नो जाहेरीमाथि कुनै कारबाही अघि नबढेको दावी गर्दै उनले हालेको दोस्रो रिट निवेदन उच्च अदालत पाटनमा विचाराधीन छ । त्यो मुद्दाको सुनुवाइका क्रममा उच्च अदालत पाटनले सरकारी वकिलको कार्यालयमा रहेको सबै फाइल नै मगाएर लगेको छ ।
जिल्ला अदालत काठमाडौंले उच्च अदालत पाटनमा रहेको विवादको टुंगो लागेर सक्कल मिसिल प्राप्त भएपछि मात्रै त्यसबारेमा सोच्न सकिने भनी आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘हाललाई निवेदन माग बमोजिम गर्न मिलेन ।’ यसको पक्राउ अनुमति जारी गर्न मिल्दैन भनेको हो ।









