काठमाडौं– सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कम्पनीका सीईओ राजकुमार अर्याललाई सोमबार पक्राउ गरेको जनाएको छ ।
सीआईबीका एक अधिकृतले उनलाई सोमबार साँझतिर पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
अर्यालमाथि कम्पनीले कर्मचारीका लागि छुट्ट्याएको ४ लाख ८० हजार कित्ता सेयर आफूखुसी वितरण गरेको आरोप छ । कर्मचारीको भागमा परेको सेयरको ८० प्रतिशत अर्याल आफैंले राखेको विषयमा नियामक धितोपत्र बोर्डमा उजुरी परेको थियो । सो विषयको छानबिन जिम्मा बोर्डले सीआईबीलाई दिएको थियो ।
सीआईबी प्रमुख मनोज केसीका अनुसार अर्यालले सेयर बाँडफाँडमा बदमासी गरेको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।









