काठमाडौं– गत भदौ २३ मा जेनजी आन्दोलनका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका छवि रिजाल पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौंको सुविधानगरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रिजालले जेनजी प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्न आदेश दिएको आरोप छ ।
तर, रिजालले आफूले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नदिएको कार्की आयोगलाई दिएको बयानमा बताएका छन् ।
जेनजी प्रदर्शनीमा भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई दोषी किटान गर्दै थप अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो ।
उनले बानेश्वरमा प्रदर्शनमा उत्रेका नवयुवामाथि गोली चलाउन आदेश दिएको भन्दै चर्को आलोचना भएको थियो ।
तत्कालीन गृहमन्त्री रमेश लेखक निकट रिजाल जेनजी आन्दोलनमा चरम दमन गरेपछि एक महिना नहुँदै काठमाडौंको सिडिओबाट हटेका थिए ।
आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक पक्राउ परिसकेका छन् ।
रिलाजमाथि अध्यागमन र अन्य आकर्षक कार्यालयहरूमा रहँदा पेसागत आचरण विपरीत काम गरेको आरोप समेत छ ।









