काठमाडौं– अमेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै पक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । वार्ताको भविष्य अन्योलमा परिरहेका बेला कूटनीतिक प्रयासहरू पुनः पाकिस्तानमा केन्द्रित हुने संकेत देखिए पनि तेहरानले सहभागिताबारे स्पष्ट धारणा सार्वजनिक नगरेपछि स्थिति अझ जटिल बनेको छ ।

ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्स इस्लामाबाद फर्केर दोस्रो चरणको वार्ता अघि बढाउने तयारीमा छन् । तर इरानले अमेरिकी कदमप्रति गम्भीर असन्तुष्टि जनाउँदै वार्तामा सहभागी हुने वा नहुने विषयमा मौनता कायम राखेको छ । तेहरानले अमेरिकामाथि आफ्ना बन्दरगाहहरूमा नाकाबन्दी लगाएर र एक जहाज नियन्त्रणमा लिएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

इरानका संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले अमेरिकाले वार्तालाई दबाबको माध्यम बनाउन खोजेको आरोप लगाउँदै खतराको वातावरणमा वार्ता स्वीकार्य नहुने बताए । उनका अनुसार पछिल्ला दुई सातामा इरानले युद्धक्षेत्रमा नयाँ रणनीति देखाउने तयारी गरिरहेको छ ।

यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज जलमार्गबाट अनुमतिबिना पार गर्ने जहाजहरूलाई निशाना बनाइने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानमाथि जलमार्ग क्षेत्रमा जहाजहरूलाई अवरोध गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । उनका अनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरु गरेको युद्धपछि इरानले विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने मार्ग अवरुद्ध गरेको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत नाकाबन्दीले इरानलाई कमजोर बनाइरहेको दाबी गर्दै समझदारी नभएसम्म दबाब जारी रहने संकेत दिए।

युद्धविरामको समयसीमा सकिन लाग्दा वार्तामा सहभागी हुने विषयमा ट्रम्पले इरान तयार हुनुपर्ने बताए। उनले युद्धविराम समाप्त भए ठूलो स्तरमा आक्रमण सुरु हुनसक्ने चेतावनी दिए । यद्यपि युद्धविराम केही समय थपिने सम्भावना न्यून रहेको उनको भनाइ छ ।

युद्धको जोखिमबीच अन्तर्राष्ट्रिय बजारमा भने तेलको मूल्य घट्दो क्रममा देखिएको छ । अमेरिका–इरानबीच सहमति भएर होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने आशाले बजार प्रभावित भएको विश्लेषण गरिएको छ । तेहरानमा युद्धविरामपछि केही सामान्य जीवन फर्किएको देखिए पनि सर्वसाधारणमा अनिश्चितता र आर्थिक दबाब अझै कायम छ । स्थानीय बासिन्दाहरूले अवस्था सहज नभएको र अर्थतन्त्र निकै कमजोर रहेको बताएका छन् ।

यसैबीच, इजरायल र लेबनानबीच छुट्टै युद्धविराम घोषणा भइसकेको छ, जसमा हिजबुल्लाह पनि संलग्न छ । दुवै पक्षबीच वासिङ्टनमा पुनः वार्ता हुने तयारी भइरहेको छ । तर दक्षिणी लेबनानमा छिटपुट हिंसा जारी रहेको र इजरायलले केही क्षेत्रमा नागरिकलाई नफर्कन चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले लेबनानमा एक फ्रान्सेली शान्तिरक्षकको हत्या भएको घटनाको निन्दा गरेको छ । उक्त घटनामा हिजबुल्लाहलाई दोष दिइएको छ । इजरायल–हिजबुल्लाह द्वन्द्वका कारण लेबनानमा हालसम्म हजारौंको ज्यान गइसकेको सरकारी तथ्यांकले देखाएको छ ।

अमेरिका–इरान वार्ताको अर्को महत्त्वपूर्ण मुद्दा इरानको समृद्ध युरेनियम भण्डार पनि हो । ट्रम्पले इरान उक्त भण्डार हस्तान्तरण गर्न सहमत भएको दाबी गर्नुभएको थियो । तर इरानले उक्त दाबी अस्वीकार गर्दै युरेनियम कतै हस्तान्तरण नगरिने स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले यस्तो विषय वार्तामा कहिल्यै विकल्पका रूपमा नउठाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय