काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनामा शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब १० करोड रुपैयाँले बचतमा छ ।

समीक्षा अवधिमा चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २२ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ३२ करोडले बचतमा छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा १४ अर्ब ५५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार, गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३० दशमलव ५ प्रतिशतले वृद्धि भई गत चैत मसान्तमा ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा गत चैत मसान्तमा २० दशमलव ८ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड पुगेको छ ।

चालु आर्थिक वर्षको ९ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१ दशमलव ८ महिनाको वस्तु आयात र १८ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

९ महिनामा १६ खर्ब ५९ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको ९ महिनामा १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । विप्रेषण आप्रवाह ३९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १० दशमलव २ प्रतिशतले बढेको थियो । विवरणअनुसार, गत चैत महिनामा विप्रेषण आप्रवाह २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ दशमलव ९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव ५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय