काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी)का कर्मचारीले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिएकी छिन् ।
आज यहाँ आयोजित छलफलमा उनले कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गुनासो आएको भन्दै सो कार्य तत्काल रोक्न निर्देशन दिएकी हुन् ।
मन्त्री चौधरीको निर्देशन कार्यान्वयनपछि संस्थानको वार्षिक ७८ लाख रुपैयाँ जोगिने उनको सचिवालयले जनाएको छ । ‘संस्थान घाटामा छ । किसानले भुक्तानीलगायत समस्या भोगिरहेका छन्, तर कर्मचारीले वार्षिक लाखौं रकमको दूध र घिउ सित्तैमा लिने कुरा राम्रो होइन । त्यसैले यस्तो कार्य तत्काल रोकौं, संस्थानको हितका लागि गम्भीर भएर काम गरिनुपर्छ,’ निर्देशनका क्रममा मन्त्री चौधरीले भनिन् ।
कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ ।









