काठमाडौं– नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) विक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर विक्रीका लागि अनुमति प्रदान गरेको हो ।
बोर्डका अनुसार कुल ४ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर विक्रीका लागि अनुमति प्राप्त भएको हो । त्यसको मूल्य ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० रुपैयाँ बराबर छ । अनुमति पाएका कुल कम्पनीमध्ये १५ ओटा जलविद्युत् आयोजना छन् ।
धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा १०३ जलविद्युत् कम्पनी सूचीकृत भई कारोबार भइरहेको छ । बोर्डबाट अनुमति पाउने र अनुमतिको प्रतीक्षामा रहेका कम्पनीमा पनि जलविद्युुत्कै बढी छन् । अनुमति पाएका कम्पनीमा ७ ओटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन् ।
विकास बैंक र होटल एवं पर्यटन क्षेत्रका एक÷एक कम्पनी छन् । बोर्डमा कुल ९८ ओटा कम्पनीले साधारण शेयर विक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन् । त्यसमा होटल तथा पर्यटन क्षेत्रका १८, जलविद्युत्का ३२, लगानीका ५ कम्पनी छन् । यस्तै, उत्पादन तथा प्रशोधनका २६, माइक्रो इन्स्योरेन्सका ३, अन्य समूहका १४ कम्पनी छन् । रासस









