काठमाडौं– चार वर्षअघि रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका २६ वर्षीय तय्यब खानले यूएई लटरीको ‘लक्की डे ड्र’ अन्तर्गत ३ करोड दिराम (करिब सबा अर्ब नेपाली रुपैयाँ) को ज्याकपट जितेका छन् ।

यो चिठ्ठा तय्यब एक्लैले नभई उनका ५ जना घनिष्ठ साथीहरूले मिलेर नियमित रूपमा पैसा जम्मा गरी किनेका थिए। ३ करोड दिरामको यो ठूलो पुरस्कार पाँचै जना साथीहरूबीच बराबरी बाँडिने उनले बताएका छन्। जसअनुसार प्रत्येकको भागमा ६० लाख दिराम (झन्डै २५ करोड नेपाली रुपैयाँ) पर्नेछ।

तय्यब खानले यो रकमबाट नेपालमा आफ्नो परिवारका लागि सुविधायुक्त घर बनाउने पहिलो प्राथमिकता राखेका छन्। ४ वर्षसम्म कर्मचारीका रूपमा काम गरेका उनी अब उद्यमशीलता र लगानीको क्षेत्रमा अघि बढ्न चाहन्छन्। साथै, उनले लामो समयदेखि सपना देखेको महिन्द्रा थार जीप र रोलेक्स घडी किन्ने सोच पनि बनाएका छन्।
तय्यब अबुधाबीमा सुरक्षा गार्डको काम गर्ने खालीज टाइम्सले उल्लेख गरेको छ ।

टिकट किने पनि उनले लक्की ड्रको चिठ्ठा खोल्ने कार्यक्रम नहेरेको र विजेता बनेको जानकारी इमेलबाट पाएको खालीज टाइम्सको समाचारमा उल्लेख छ ।

‘यसअघि मैले सानो पुरस्कारको लागि त्यस्तै प्रकारको इमेल पाएको थिएँ, त्यसकारण यसबारे मैले धेरै सोचिनँ,’ तय्यबले भनेका छन्, ‘जब मैले इमेल खोल्दा ३० मिलियन दिराम देखेँ तब मेरो हातगोडा काम्न थाले । सपना जस्तै भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय