सुदूरपश्चिम– कैलाली–कञ्चनपुर सीमामा रहेको सुदूरपश्चिमको प्रमुख भन्सार नाका गौरीफन्टाबाट आर्थिक वर्ष २०८२–८३ मा १ अर्ब २९ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु निर्यात भएका छन् । कैलाली भन्सार कार्यालयका अनुसार यसरी निर्यात भएका अधिकांश वस्तु कच्चापदार्थ र वनजन्य उत्पादनमै सीमित छ, जसबाट १ करोड ८४ लाख ७१ हजार ७२३ रुपैयाँ राजश्व संकलन भएको छ । यसले सुदूरपश्चिममा मूल्य अभिवृद्धि गर्ने उद्योगको विकास हुन नसकेको र निर्यात अझै प्राकृतिक स्रोतमा आधारित रहेको देखिएको छ ।

भन्सार कार्यालयका अनुसार यहाँबाट सबैभन्दा धेरै ४४ करोड २७ लाख २८ हजार ५०० रुपैयाँ बराबरको रोजिन तथा रेजिन एसिड निर्यात भएको छ । त्यसपछि कत्था २१ करोड ६६ लाख ७९ हजार ८४० रुपैयाँको, वनस्पतिबाट प्राप्त हुने रस तथा अर्क १६ करोड ९२ लाख २०० रुपैयाँको, रेपसिड तेल उद्योगको अवशेष (आयल केक) १३ करोड १ लाख ५७ हजार ४४८ रुपैयाँको र तरल कत्था १२ करोड ७८ लाख ८४ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै, टर्पेन्टाइन तेल १२ करोड सात लाख ९७ हजार ६०० रुपैयाँको, प्लाइउडमा प्रयोग हुने भिनियर सिट ३ करोड ५७ लाख ४५ हजार ७५८ रुपैयाँको, खयर कत्था ३ करोड २९ लाख ८ हजार रुपैयाँको र टाल्कजस्ता वस्तु २ करोड १५ लाख ४१ हजार १३६ रुपैयाँको निर्यात भएको छ ।

यीमध्ये अधिकांश वनजन्य स्रोत वा सामान्य प्रशोधनपछि निर्यात हुने वस्तु हुन् । उच्च मूल्य अभिवृद्धि भएका औद्योगिक उत्पादन भने शीर्ष निर्यात सूचीमा छैनन् ।

यस्तो निर्यात संरचनाले प्रदेशमा उद्योगीकरण कमजोर रहेको देखाएको छ । स्थानीय कच्चा पदार्थ प्रशोधन गरी अन्तिम उत्पादनका रूपमा निर्यात गर्न सकिए निर्यातको मूल्य र रोजगारी दुवै बढ्न सक्ने अवस्था रहेको जानकारहरु बताउँछन् ।

गत आर्थिक वर्ष २०८२–८३ मा कुल ९ अर्ब ७१ करोड १५ लाख ६ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएकामा ८ अर्ब ३९ करोड ८५ लाख ६० हजार रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यको ८६ दशमलव ४८ प्रतिशत हो । अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा भने कार्यालयले ११ अर्ब १६ करोड २६ लाख ३० हजार लक्ष्यमा ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ अर्थात् ७७ दशमलव ६७ प्रतिशत राजस्व उठाएको थियो । यस आधारमा लक्ष्य प्राप्तिको प्रतिशतमा गत वर्षभन्दा यस वर्ष करिब ८ दशमलव ८१ प्रतिशत बिन्दुले सुधार देखिएको छ ।

यहाँ डिजेल, पेट्रोल, एलपी ग्यास, कागज, खाद्य सामग्री, फुड सप्लिमेन्ट, बिटुमिन, तोरीलगायतका वस्तु ठूलो परिमाणमा आयात भएका छन् । डिजेल आयातबाट मात्रै ३ अर्ब ३८ करोड ६० लाख ७ हजार ३०९ रुपैयाँ राजस्व संकलन भएको छ, जुन कुल राजस्वको ४० दशमलव ३२ प्रतिशत हो । दोस्रो स्थानमा रहेको पेट्रोल आयातबाट १ अर्ब ६५ करोड ७० लाख ५९ हजार ६२० रुपैयाँ अर्थात् १९ दशमलव ७३ प्रतिशत राजस्व प्राप्त भएको छ । डिजेल र पेट्रोलबाट मात्रै कुल राजस्वको करिब ६० प्रतिशत योगदान रहेको तथ्यांकले देखाउँछ ।

यसैगरी एलपी ग्यासबाट ३४ करोड ८२ लाख ३५ हजार ६६८, कागज तथा पेपरबोर्डबाट ३६ करोड ९८ लाख ६१ हजार १३८, दालमोठ, पापड, भुजियालगायतबाट १०, फुड सप्लिमेन्टबाट ९ करोड ९ लाख ६ हजार ९८५, पेट्रोलियम बिटुमिनबाट ८ करोड ७७ लाख ८७ हजार ५६, तोरी ७ करोड ३९ लाख ८६ हजार २३८, एभिएसन टर्बाइन इन्धन ५ करोड ५३ लाख ३२ हजार ९४० र बेकरीजन्य वस्तु आयातबाट ५ करोड १४ लाख ८८ हजार ८८९ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय