काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्केका छन् । उनलाई त्रिभुवन विमानस्थलमा कांग्रेस कार्यकर्ता र शुभेच्तुकहरुले स्वागत गरेका छन् ।

देउवाले स्वदेश फिर्तीपछि जारी गरेको विज्ञप्तिमा आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न र मुलुक तथा जनताको सेवा गर्न फर्किएको उल्लेख गरेका छन् ।

स्वास्थ्य उपचारपछि स्वदेश फर्किन पाउँदा आफू भावनाले भरिएको उल्लेख गर्दै देउवाले स्वास्थ्यप्रति चासो राख्ने, चिन्ता गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

आफू विनम्र सेवकका रूपमा सुन्न, सिक्न र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुन फर्किएको देउवाको विज्ञप्तिमा उल्लेख छ ।

देउवाले नेपाली कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल नभई दशकौंको राजनीतिक संघर्षबाट आफ्नो अस्तित्व र मर्यादा जोगाउन सफल पार्टी भएको उल्लेख गरेका छन् ।

उनले बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूको त्याग र योगदानलाई कहिल्यै बिर्सन नहुने बताएका छन् । उनीहरूको विरासतलाई गौरवको पदकका रूपमा मात्र नभई जनताको विश्वासका रूपमा ग्रहण गर्नुपर्ने देउवाको भनाइ छ ।

देउवाले पछिल्लो समय युवा पुस्तामा देखिएको असन्तुष्टि, पीडा र परिवर्तनको चाहनालाई आफूले गम्भीर रूपमा बुझेको बताएका छन् ।

नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको उल्लेख गर्दै उनले बदलिँदो विश्वसँगै कांग्रेस पनि समयको गतिअनुसार अघि बढ्नुपर्ने बताएका छन् ।

गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि उनले स्मरण गरेका छन् ।

लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायका अधिकारका लागि अघिल्लो पुस्ताले लामो संघर्ष गरेको भन्दै उनले त्यस ऐतिहासिक योगदानलाई नकारात्मक भाष्यबाट हेर्न नहुने बताएका छन् ।

उनले लोकतन्त्रमा सत्ता अस्थायी हुने तर जनताको मन बुझ्ने नेता सधैं स्मरणीय हुने धारणा पनि राखेका छन् । राजनीतिक यथार्थका जटिलतालाई इमानदारीपूर्वक स्वीकार गर्दै जनताको इच्छालाई सर्वोच्च मानेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

देउवा २०८२ फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा उपचारपछि उनी थप उपचारका लागि हङकङ पुगेका थिए ।

विदेशमा रहँदा देउवाले विभिन्न निकायलाई पत्र पठाउँदै साउनभित्रै स्वदेश फर्किने जानकारी गराएका थिए । सोहीअनुसार आज उनी नेपाल फर्किएका हुन् ।

देउवा स्वदेश फर्किएसँगै कांग्रेसको आन्तरिक राजनीतिमा समेत उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय