काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि १३ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
ऊर्जा उद्यमीहरूले आआफ्नो तर्फबाट पनि सो रकम हस्तान्तरण गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको कारणले जलविद्युत् परियोजना भौगोलिक तथा विपद्का समस्या भोग्नुपरेकाले आगामी दिनमा जलवायु परिवर्तनमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले विपद्मा परेको बेला राज्यलाई आर्थिक सहयोग गरेर संकटको घडीमा साथसाथै रहेको भावना विकास गर्न सकेको बताए ।
इप्पानका अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरू संकटको घडीमा राज्यको विपद् कोषमा आर्थिक सहयोग गरेको बताए। उनले भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएको बताउँदै पीडितको घाउमा मलम लगाउने प्रयास गरेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले ऊर्जा उद्यमीहरू आफैं संकटमा परेको बेला आर्थिक सहयोग गरेर सह्रानीय काम गरेको बताए । इप्पानका निर्वतमान अध्यक्ष तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीका सल्लाहकार गणेश कार्कीले बाढीले प्रभावित जलविद्युत् आयोजनाको उद्धारको लागि इप्पानको तर्फबाट प्राविधिक सहयोग गर्दै आइरहेको स्मरण गराए ।









