लन्डन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न चाहेको समाचार सार्वजनिक भएपछि सोमबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ । यसले मध्यपूर्वमा जारी युद्ध अन्त्य हुन सक्ने आशा जगाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प भने महत्त्वपूर्ण मध्यावधि निर्वाचनको तयारीमा छन् ।

इरानले द्वन्द्वसँग सम्बन्धित अन्य सर्तहरू पूरा भएमा अमेरिका सबै मोर्चामा युद्ध अन्त्य गर्न सहमत भएको दुई दिनभित्रै ‘स्टे«ट अफ होर्मुज’ खोल्न तयार रहेको बताएपछि कच्चा तेलको मूल्यमा थप दबाब परेको हो ।

समाचार संस्था ‘एक्सियोस’का अनुसार, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई सम्भावित नयाँ वार्ताका लागि पत्र पठाएका छन् । पछिल्ला केही महिनायताकै यो उच्चस्तरको कूटनीतिक पहल भएको बताइएको छ ।

तेलको मूल्य घटेसँगै ऊर्जा क्षेत्रका प्रमुख कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ । यद्यपि, इन्धनको लागत घट्दा अन्य क्षेत्रका कम्पनीहरूलाई भने लाभ पुगेको छ ।

‘ग्लोबल रिस्क म्यानेजमेन्ट’का प्रमुख विश्लेषक आर्ने लोहमान रासमुसेनले अमेरिकी मध्यावधि निर्वाचनलाई ध्यानमा राख्दै ट्रम्पले दिएका संकेत रणनीतिक चाल मात्र हुन सक्ने बताएका छन् ।

उनले भने, ‘हाम्रो विचारमा, भोलि हुने अमेरिकी मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर ट्रम्पले दिएका यी संकेत केवल रणनीतिक हुन सक्छन् ।’

उनले स्ट्रेट अफ होर्मुजमा पानीजहाजमाथिका आक्रमण जारी रहेकाले ऊर्जा मूल्य लामो समयसम्म उच्च रहने आफ्नो पूर्वानुमान यथावत् रहेको पनि बताए ।

मंगलबार हुने मध्यावधि निर्वाचनमा सबैको ध्यान केन्द्रित भएको छ । डेमोक्र्याटहरूले कंग्रेसमा कम्तीमा आंशिक नियन्त्रण हासिल गर्ने अपेक्षा गरेका छन् । त्यसो भएमा दुई वर्षपछि पहिलो पटक राष्ट्रपति ट्रम्पको राजनीतिक निर्णयमाथि प्रभावकारी नियन्त्रण कायम हुन सक्छ ।

रिपब्लिकनहरूले कङ्ग्रेसमा आफ्नो पूर्ण प्रभुत्व गुमाएमा ट्रम्प थप राजनीतिक दबाबमा पर्न सक्छन् । त्यस अवस्थामा उनले उच्च मुद्रास्फीति, इरानसँगको अनिश्चित युद्ध र वासिङ्टनमा आफ्ना गतिविधिमाथि डेमोक्र्याटहरूले गर्ने कडा छानबिनको सामना गर्नुपर्ने हुन सक्छ ।

‘वेल्थ क्लब’की प्रमुख लगानी रणनीतिकार सुसाना स्ट्रिटरले पनि अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा लगानीकर्ताहरू नयाँ बजार अस्थिरताको सामना गर्न तयार रहेको बताइन्। उनका अनुसार, कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीहरूले ठूलो मात्रामा लगानी गरिरहेका कारण त्यसको प्रतिफल र खर्चको औचित्यमाथि पनि प्रश्न उठ्न थालेको छ ।

शुक्रबारको गिरावटपछि सोमबार प्रविधि कम्पनीहरूको सेयर मूल्य थप घटेको छ । अमेरिकी ठूला प्रविधि कम्पनीहरूको अपेक्षाभन्दा कमजोर आम्दानीले एआई क्षेत्रमा भइरहेको ठूलो लगानीको प्रतिफलबारे चिन्ता बढाएको छ ।

यसै साता एप्पल, एडभान्स्ड माइक्रो डिभाइसेस (एएमडी) र सफ्टवेयर कम्पनी पलान्टिरका वित्तीय नतिजा तथा व्यावसायिक प्रक्षेपणलाई लगानीकर्ताहरूले नजिकबाट नियाल्नेछन् ।

जापानी चिप निर्माता कम्पनी कियोक्सियाले अपेक्षाभन्दा कमजोर व्यावसायिक प्रक्षेपण सार्वजनिक गरेपछि सोमबार यसको सेयर मूल्य करिब १६ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य जुन महिनामा कायम भएको उच्च बिन्दुबाट करिब ७० प्रतिशत घटिसकेको छ । यद्यपि, यस वर्षको सुरुआतको तुलनामा यसको मूल्य अझै २०० प्रतिशतभन्दा बढी छ ।

यसैबीच, ताइवानको टीएसएमसीको सेयर मूल्य करिब २ प्रतिशत र दक्षिण कोरियाको एसके हाइनिक्सको सेयर मूल्य ३.८ प्रतिशतले बढेको छ ।

विश्वकै ठूलो क्रिप्टोकरेन्सी विनिमय प्लेटफर्म बाइनान्सले यस क्षेत्रकै ठूलो साइबर आक्रमणको सामना गर्नुपरेको छ । उक्त आक्रमणमा छ अर्ब अमेरिकी डलरभन्दा बढी रकम चोरी भएको बताइएको छ । शुक्रबारको गिरावटपछि सोमबार बिटक्वाइनसहित अन्य क्रिप्टोकरेन्सीको मूल्य भने स्थिर रहेको छ ।

कर्पोरेट क्षेत्रमा फ्रान्सेली उच्च गतिको रेल निर्माता कम्पनी अल्स्टमको सेयर मूल्य २५ प्रतिशतभन्दा बढीले घटेको छ । कम्पनीले आफ्ना नयाँ ‘कोराडिया म्याक्स’ क्षेत्रीय रेलमा थप उत्पादन समस्या देखिएको जनाएको छ ।

उक्त समस्याका कारण कम्पनीले छ महिनाभित्र दोस्रो पटक आफ्नो नाफासम्बन्धी लक्ष्य घटाउनुपरेको छ । वर्षको सुरुआतमा १२ अर्ब युरो रहेको कम्पनीको बजार मूल्य अहिले घटेर ५.३ अर्ब युरोमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय