काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये कमजोरमा गनिने सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी बैंकिङ क्षेत्रमा तीन दशक अनुभवी सुनिलकुमार पोखरेलले बोकेका छन् ।

गत जेठ २७ को सञ्चालक समिति बैठकले उनलाई असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि सिइओ नियुक्त गरेको थियो ।

सोही अनुसार उनले शुक्रबारबाट सिइओको पदभार ग्रहण गरेको बैंकले जनाएको छ । पोखरेल गत वैशाख १८ देखि कामु सिइओको रुपमा कार्यरत थिए । उनी दुई वर्षदेखि सिभिल बैंकमा नायब सिइओको रुपमा आवद्ध थिए ।

स्वदेशको बैंकिङ क्षेत्रमा २४ वर्षका अनुभवी पोखरेलले नेपालबाहिर विभिन्न विदेशी बैंकमा ६ वर्ष काम गरेका छन् । स्वदेशमा उनले स्ट्यान्डर्ड चार्टर्डमा १६ वर्ष, एनआइसी एसियामा साढे ५ वर्ष, नबिलमा १ वर्ष र सिभिलमा दुई वर्ष काम गरेका छन् । विदेशमा स्ट्यान्डर्ड चार्टर्ड अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको युनाइटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजिडी बैंकमा १ वर्ष काम गरेका छन् ।

डिजिटलाइजेसनको माध्यमबाट कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नविन योजना ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी सेयरहोल्डरलाई उचित प्रतिफल प्रदान गर्ने पोखरेलले बताएका छन् ।

पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाइमा पुर्याउनेमा आफू विश्वस्त रहेका सिभिलका अध्यक्ष इच्छाराज तामाङले बताए ।

बैंकले चालु आर्थिक वर्षमा व्यावसायिक आकारमा राम्रो प्रगति गरेको र आगामी दिनमा समेत निरन्तर प्रगति गर्नेमा आफू विश्वस्त रहेको तामाङको भनाइ छ ।
व्यवसाय र प्रगतिका हिसाबले तुलनात्मक रुपमा कमजोर सिभिललाई प्रतिस्पर्धीको दाँजोमा पुर्याउने चुनौती सिइओ पोखरेलसामु रहेको बैंकिङ क्षेत्रका विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय