झापा– कोभिड–१९ बाट जिल्लाका पुराना तथा दर्जनौं उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङहोममा बुधबार राति निधन भएको हो ।

उनको शव आज बिहान भद्रपुर ल्याएर नेपाल स्काउटको टोलीले दाहसंस्कार गरेको परिवारले जनाएको छ । केही समयअघि स्वास्थ्यमा समस्या आएपछि मेची अस्पतालमा उनको पिसिआर परीक्षण गराइएको थियो । गत जेठ ३१ गते अग्रवाललाई कोरोना संक्रमण पुष्टि भएसँगै होमआइसोलेसनमा बसेर उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उहाँलाई यही असार ४ गते सिलिगुडी लगिएको थियो । उपचारकै क्रममा नर्सिङहोममा उनको निधन भएको हो ।

२०१६ सालमा जन्मिएका अग्रवालले भद्रपुरमै बसेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका थिए । सुरुमा घरमै ‘घडी बिडी’को उद्योग स्थापना गरेका उनले हाल मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेसनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटल, सिनेमा हललगायत सञ्चालन गर्दै आएका छन् ।

मोहपाल धर्मशाला, भद्रपुर मारवाडी संघ, भद्रपुर गौशाला र जिल्लाका विभिन्न मठमन्दिर बनाउन अग्रवालको ठूलो योगदान रहेको पत्रकार गोपाल गिरी बताउनुहुन्छ । अन्य जिल्लामा कोभिड–१९ को संक्रमणसँगै मृत्युको दर घटे पनि झापामा भने दैनिक कोरोना संक्रमणकै कारण तीनदेखि चार जनाको मृत्यु भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय