काठमाडौं– सोसियल इ–कमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग हालै रणनीतिक साझेदारी गरेको छ । उक्त समाचार याहू फाइनान्स, एपी न्युजलगायत वित्तीय क्षेत्रका विभिन्न पत्रिकामा हालै प्रकाशित गरेका छन् ।

एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा सो कम्पनीका प्रबन्ध निर्देशक क्याथरिन ब्रान्डले भनेका छन्, ‘प्रविधिका क्षेत्रमा विद्यमान उद्योग तथा बजारमा नयाँ परिवर्तन ल्याउनसक्ने सोचसहित काम गरिरहेका स्टार्ट अप कम्पनीहरुलाई हामी सहयोग गर्छौं । सगुन एउटा प्रविधिको क्षेत्रमा उच्च सम्भावना बोकेर काम गरिरहेको कम्पनी हो भन्ने ठहर गरी रणनीतिक साझेदारी गरेका छौं ।’

एक्जेम्प्लर कम्पनीसँगको साझेदारीका विषयमा थप प्रस्ट पार्न गरिएको अनुरोधमा सगुनका संस्थापक गोविन्द गिरी भन्छन्, ‘भारतमा अनुसन्धान र प्रोडक्ट डिभलेपमेन्ट तथा नेपालमा प्रयोगकर्ता र व्यवसाय वृद्धिका लागि टिम तयार गरी सुरुका दिनदेखि सगुनले काम गरिरहेको छ । अमेरिकामा टिम तयार गर्ने पूर्वयोजनाअन्तर्गत सगुनलाई अन्तर्राष्ट्रिय बजारमा सहज प्रतिस्पर्धा गर्नसक्ने स्तरको प्राविधिक विकास तथा कर्पोरेट तहको व्यवस्थापनमा उच्च गुणस्तरीय योगदान गर्न सक्ने अमेरिकी कम्पनी एक्जेम्प्लरसँग साझेदारी गरिएको हो ।’

उनका अनुसार एक्जेम्प्लर कम्पनीसँगको साझेदारी सगुनको एउटा रणनीतिक विस्तार हो जसबाट सगुनले कानुनी सेवा, व्यवस्थापन, तेस्रो पक्षीय साझेदारीलगायत पुँजी वृद्धिका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सहयोग प्राप्त गर्नेछ । ‘त्यसैले एक्जेम्प्लर कम्पनीसँगको साझेदारीलाई सगुनले आफ्नो विस्तारित टिमका रूपमा लिएको छ,’ उनले भने ।

एक्जेम्प्लर कम्पनीका अनुसार सगुनसँग सम्बन्धित यस कम्पनीका समूह सदस्यहरूले क्रिप्टोकरेन्सी, सामाजिक सञ्जाल, इ–कमर्सलगायत क्षेत्रमा १५ देखि २५ वर्षसम्मको अनुभव प्राप्त गरेका छन् ।

उनीहरूले हार्वर्ड युनिभर्सिटी, एल ए युनिभर्सिटी, थन्डरबर्ड युनिभर्सिटीलगायत अमेरिकाका उच्चस्तरका विश्वविद्यालयबाट उच्च तहको अध्ययन पूरा गरेका छन् । यी टीम सदस्यहरूसँग सगुन जस्तै कम्पनीका लागि एक अर्ब ६० करोड अमेरिकी डलर पुँजी संकलन गरेको अनुभव छ । साथै एक्जेम्प्लर कम्पनीका कार्यालयहरु सिलिकन भ्याली, न्युयोर्क, बोस्टनलगायत अमेरिकाका १० वटा मुख्य सहरमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय