काठमाडौं– एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा १९ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
संस्थाले प्रकाशित गरेको अघिल्लो आवको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण अनुसार उसको खुद नाफा अघिल्लो आर्थिक वर्षको १६२.९७ प्रतिशत बढेर १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष संस्थाको खुद नाफा ७ करोड ५५ लाख ८९ हजार रुपैयाँ थियो ।
संस्थाले नाफामा भएको उल्लेख्य वृद्धिसँगै अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी २० रुपैयाँ १६ पैसा बढेर ३६ रुपैयाँ ८३ पैसा पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ३८.८० गुणा छ ।
गत आर्थिक वर्षमा संस्थाको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ६८.८९ प्रतिशत बढेर ४७ करोड ३ लाख २६ हजार रुपैयाँ पुगको वित्तीय विवरणले देखाउँछ । अघिल्लो आवमा यस्तो आम्दानी २७ करोड ८४ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत वर्ष संस्थाको अन्य सञ्चालन आम्दानी ०.५९ प्रतिशत घटेर ९९ लाख २४ हजार रुपैयाँ र सञ्चालन मुनाफा १२३९.१२ प्रतिशत बढेर ३१ करोड ४८ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
एनएमबिको चुक्ता पुँजी ५३ करोड ९८ लाख ५ हजार रुपैयाँ छ । यसको जगेडा कोष ३६ करोड ५५ लाख ११ हजार रुपैयाँ पुगेको छ । सापटी २ अर्ब ७९ करोड ५६ लाख १६ हजार, निक्षेप १ अर्ब ६७ करोड ३८ लाख ९ हजार रुपैयाँ र कर्जा लगानी ५ अर्ब २ करोड ३७ लाख १३ हजार रुपैयाँ रहेको संस्थाको वित्तीय विरणमा उल्लेख छ ।









