काठमाडौं– लगानीमैत्री वातावरण सिर्जना हुन नसक्दा तथा प्रक्रियागत झन्झट कायमै रहँदा अपेक्षित रूपमा वैदेशिक लगानी भित्र्याउन नसकिएको सरकारले स्वीकार गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा देशको वर्तमान अर्थिक अवस्थासम्बन्धी विवरण सार्वजनिक गर्ने क्रममा अपेक्षित मात्रामा वैदेशिक लगानी आउन नसकेको र त्यसमा प्रक्रियागत झन्झटको भूमिका रहेको बताएका हुन् ।
उनका अनुसार आर्थिक वर्ष २०७३–७४ मा १३ अर्ब ५० करोड खुद वैदेशिक लगानी भित्रिएकोमा आर्थिक वर्ष २०७७–७८ को ११ महिनामा १६ अर्ब २० करोड भित्रिएको छ ।
बाह्य लगानी आकर्षण गरी थप रोजगारी सिर्जना गर्ने तथा व्यवस्थापकीय एवम् प्रविधि हस्तान्तरणका माध्यमबाट मुलुकको समग्र औद्योगिकरणको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता उनले औंल्याए ।
देशभित्र रहेको पुँजी परिचालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र सर्वसाधारणसँग रहेको स–साना बचतलाई समेत पुँजी निर्माणमा उपयोग गरी आर्थिक विकासमा परिचालन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।









