काबुल– अफगान राजधानी काबुल बिद्रोही तालिवानको घेराबन्दीमा परेको छ । तालिबानले राजधानी काबुललाई चारैतिरबाट घेरा हालेपछि त्रसित सर्वसाधारणले अफगान सत्ता तालिबानको कब्जामा गएको ठानेका छन् ।
२० वर्षपछि अफगान सत्ता तालिबानको कब्जामा फर्किन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तालिबान प्रवक्ता सोहाइल साहिनका अनुसार सत्ता हस्तान्तरणका लागि वार्ता जारी रहेकाले लडाकुहरु राजधानी काबुलको बाहिरी इलाकामा पर्खिरहेका छन् ।
‘हाम्रा सैनिकहरु काबुल सहरमा प्रवेश गरिसकेका छैनन्, हामीले भर्खरै हाम्रा सैनिकहरु काबुल सहरमा छैनन् भनेर विज्ञप्ति जारी गरेका छौं,’ साहिनले कतारको दोहाबाट अल–जजिरालाई बताए । शान्तिवार्ताका लागि उनी अहिले कतारमा छन् । ‘हामी छलफल गरिरहेका छौं र शान्तिपूर्ण सत्ता हस्तान्तरण पर्खिरहेका छौं,’ उनले भने ।
राजधानी काबुलमा आइतबार साइरनहरु बजेको र पटक–पटक बन्दुक पड्केको आवाज सुनिएको छ । सहरमा थुप्रै हेलिकप्टरहरुले पर्चा खसालिरहेका छन् । तालिबानले अफगान सत्ता जबरजस्ती कब्जा नगर्ने बताएको छ ।
‘कसैको पनि जिउधन र सम्मानमा तथा काबुलबासीको जीवनसँग सम्झौता नगरी संक्रमण प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न होस् भनेर वार्ताहरु चलिरहेका छन्,’ तालिबानको विज्ञप्तिमा भनिएको छ ।

‘इस्लामिक इमिरेट्स सबै फौजलाई काबुलको प्रवेशद्वारमा खडा हुन निर्देशन दिन्छ,’ तालिबानका एकजना प्रवक्ताले ट्विटरमा भनेका छन् । प्रत्यक्षदर्शीले भने लडाकुहरु काबुलका केही बाहिरी क्षेत्रमा शान्तिपूर्वक प्रवेश गरिसकेको बताएका छन् ।
त्रसित कर्मचारीहरु सरकारी कार्यालयबाट भागेका छन् भने हजारौं सर्वसाधारण काबुलका खुला ठाँउमा बसेका छन् । राष्ट्रपति असरफ घानीका कार्यालय प्रमुखले काबुलका सर्वसाधारणलाई चिन्तित नहुन सल्लाह दिएका छन् । ‘केही समस्या छैन, काबुलको स्थिति नियन्त्रणमै छ,’ उनले ट्विटरमा भनेका छन् ।
अफगान आन्तरिक मामिला मन्त्रीले तालिबानले आफ्ना लडाकूलाई काबुल प्रवेश नगर्न आदेश दिएपछि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् ।
एकजना वरिष्ठ सरकारी अधिकारीले समाचार संस्था रोयटर्सलाई बताए अनुसार तालिबान लडाकूहरु सबै क्षेत्रबाट राजधानी आइरहेका छन् ।
लडाकुहरु काबुलको कलाकन, काराबाघ र पाघमान इलाकामा आइसकेको तीनजना सरकारी अधिकारीले पुष्टि गरेका छन् । यसअघि तालिबान लडाकुले पाकिस्तान प्रवेश गर्ने प्रमुख मार्गनजिकैको सहर जलालाबाद कब्जा गरेका थिए ।
तालिबान २० वर्षअघि अफगान सत्ताबाट बाहिरिएको थियो ।









