काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्ड विपरीत सिमेन्ट उत्पादन गरी बेचेको भन्दै कपिलवस्तुको भूगर्भ पिपिसी सिमेन्टलाई कारबाही गरेको छ ।
विभागले सोमबार गरेको नमूना परीक्षणमा भूगर्भ सिमेन्ट उद्योग प्रालिबाट उत्पादित पिपिसी सिमेन्ट नेपाल गुणस्तर मापदण्ड विपरीत पाइएको थियो ।
विभागले कपिलवस्तु, कृष्णनगरका रमाकान्त चौधरीको गुनासोपछि सिमेन्ट परीक्षण गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले तोकेको गुणस्तर मापदण्डभन्दा सिमेन्टको गुणस्तर कम आएकाले कारबाही गरिएको जानकारी दिए ।
‘सिमेन्टको तीन दिनको कम्प्रेसिभ क्षमता परीक्षण गर्दा १६ एमपिए आउनुपर्नेमा नौ एमपिए र सात दिनको भारवहन क्षमता परीक्षण गर्दा २२ एमपिए आउनुपर्नेमा १५ एमपिएमात्र आएकाले बिक्री वितरण रोक्का गरी स्पष्टीकरण सोधेका हौं,’ उनले भने ।
विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन २०३७ तथा नियमावली २०४० बमोजिम पिपिसीको बिक्री वितरणमा रोक लगाई स्पष्टीकरण माग गर्नुका साथै बिना मूल्य गुनासोकर्तालाई सामान बदली गराइदिन निर्देशनसमेत दिएको छ ।









