कठमाडौं– विश्वव्यापी चिप्स अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले आगामी सेप्टेम्बरमा टोयोटाले कार उत्पादन ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ ।

विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब नौ हजार गाडी उत्पादन गर्ने योजना बनाएकोमा यसलाई घटाई लगभग पाँच हजारमा संशोधन गरिएको निकीले बताएको छ । यद्यपि निकीले यो भनाइ पुष्टि गर्न कुनै आधिकारिक स्रोतलाई उद्धृत गरेको भने छैन ।

निकीका अनुसार दक्षिणपूर्वी एसियामा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’को संक्रमण विस्तारले टोयोटाका केही चिप्स खरिदमा पनि असर गरेको छ । टोयोटाले यस समाचारलाई लिएर तुरुन्तै कुनै प्रतिक्रिया जनाएको छैन ।

पुर्जा अभावका कारण जापानी विशाल मोटर कम्पनीका प्रतिद्वन्द्वी पनि उत्पादनलाई ढिलो वा अस्थायी रूपमा रोक्न बाध्य भएका बताइएको छ । आधुनिक कारको इलेक्ट्रोनिक्स प्रणालीको लागि माइक्रोचिप अत्यावश्यक छ । यसको गत वर्षको अन्त्यदेखि अभाव भएको छ ।

महामारीको कारण कार निर्माताले कारको माग आदेशलाई पछि धकेलेको बताएका छन् । चिप निर्माताले उत्पादन उपभोक्तालाई इलेक्ट्रोनिक्समा सारेका छन् किनभने मानिसले घरमा काम गर्न र आराम गर्न उपकरणको आवश्यक हुन्छ । महामारीका कारण कामदारको अभाव र चीन–अमेरिका व्यापार विवादको प्रभाव लगायत कारणले उत्पादन कमी भएको तर सवारीसाधनको माग भने बढेको कार निर्माण कम्पनीले बताएका छन् ।

आगामी महिनाको सुरुदेखि टोयोटाले विभिन्न जापानी कारखानामा सञ्चालन रोक्नेछ र उत्तर अमेरिका, चीन र युरोपमा आफ्ना गाडीको मागलाई पछि धकेल्ने सोचमा टोयोटा रहेको निकीले बतायो ।

चिप्स अभाव र अन्य भाइरसजन्य आपूर्ति समस्याले टोयोटाका जापानी कारखानामा धेरैपटक छोटो अवधिका लागि उत्पादन कार्यलाई रोकिसकिएको छ । कम्पनीले यस महिनाको सुरुतिर सार्वजनिक तथ्यांकमा पहिलो त्रैमासमा खुद मुनाफा बढेको जनाएको छ र यसको कारक कोभिड–१९ को विश्वव्यापी संक्रमण दरमा आएको कमीलाई मानेको छ ।

निकीका अनुसार बिहीबार टोयोटाको सेयरमूल्य ४.४२ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय