काठमाडौं– मानुषी लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को सेयर बाँडफाँट भएको छ । उक्त सेयरका लागि आवेदन दिने एक लाख आवेदकमध्ये १५ सयभन्दा केही बढीले १० कित्ताका दरले सेयर पाएका छन् ।
२४ लाखभन्दा बढीले उक्त सेयरका लागि आवेदन दिएकोमा भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता सेयर पाएका छन् । १० कित्ता पाउने ३६ हजार ८५९ मध्येका तीनजनाले थप एक कित्ता पनि पाएका छन् ।
निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार यो सेयरका लागि २४ लाखजनाभन्दा बढीले आवेदन दिएका छन् ।
कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो ।
त्यसमा ५ हजार ४६९ कित्ता कर्मचारीका लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारण आवेदकलाई बाँडफाँट भएको हो ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले सेयर बाँडफाँट गरिएको हो । मागभन्दा बढी आवेदन परेकोले कुल आवेदकको ९८.४७ प्रतिशतको हात खाली भएको छ । अर्थात आवेदन दिने एक लाखजनामा १५ सयभन्दा थोरै बढीले मात्रै सेयर पाएका छन् ।
उक्त सेयर बाँडफाँटको नतिजा केही बेरमा https://iporesult.cdsc.com.np/ मा हेर्न सकिन्छ









