काठमाडौं– नेपाल विद्युत् प्राधिरकणले पूर्वजानकारीबिनै बिजुली काटिने, नयाँ बत्ती जडानका लागि मिटर नपाइने, नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रुखो हुने, एकातिर फोन नै नउठ्ने, उठी हाले पनि कुनै जानकारी नदिने समस्या समाधान गर्ने भएको छ ।
प्राधिकरणमा कार्यकारी निर्देशकको रूपमा पुनः नियुक्त भएर आएपछि कुलमान घिसिङले उपभोक्ता भनेका देवता समान हुन् भन्दै समस्या समाधानका लागि पहल थालेका छन् ।
विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालिएको प्राधिकरणले जनाएको छ ।
बिनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउनेजस्ता गुनासा आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले आवश्यक प्रयत्न गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
प्राधिकरणका कार्यकारी घिसिङले आज ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरू, प्रदेश डिभिजन कार्यालयहरू र शाखाका प्रमुखहरूसँग भर्चुअल बैठक राखी कार्यालयहरूले बेहोरिरहेका समस्याबारे छलफल गरेका छन् । छलफलको कार्यसूची अनुसार गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न उनले निर्देशन दिनुभएको छ ।
‘छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, यस्ता गुनासा मलाई मात्रै हैन ऊर्जा मन्त्रीकोमा समेत आउने गरेको छ । यस्ता गुनासालाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उनले भने ।
उनले संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैं सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्ने बताए ।
उनले कसैको दबाब र प्रभावमा नपरी उच्च नैतिक आचरण देखाएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । ‘बिजुलीको माग बढाउन ग्राहकले माग्नसाथ ‘थ्री फेज’ मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम सुरु गर्नुपर्छ, निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ ।’









