काठमाडौं– म्याद सकिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री गर्ने अर्को अखाडा पनि फेला परेको छ । यसअघि पनि पटकपटक यस्ता अखाडा फेला परेका थिए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिले खाद्य वस्तुमा उपभोग्य मिति तथा मूल्यसम्बन्धी नयाँ लेबल लगाई बिक्रीवितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा विभाग र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले संयुक्त रूपमा छापा मारेको हो ।

अनुसन्धानका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत उपभोग गर्ने म्याद समाप्त भएका पास्ता सेबई, कुकिज, चकलेट, सोयाबिन एवं बिस्कुुट लगायत करिब एक दर्जनजति खाद्य वस्तुमा नयाँ मिति राख्ने गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

उनका अनुसार लेबल गर्नेसहित दुईवटा भण्डारणस्थल (गोदाम) सिलबन्दी गरेर थप अनुसन्धानका लागि पुनः लेबल गर्ने मेसिन, सो कार्यमा प्रयोग हुने केमिकल, कागजात र खाद्य वस्तुको नमूना बरामद गरिएको छ ।

सो कार्यमा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अगद नेपाल भेन्चरका सञ्चालक प्रभाव देव फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि विभागले काठमाडौंको सानो भर्याङस्थित समिट कमर्सियल प्रालीले कस्मेटिक तथा सवारी साधन सफा गर्ने प्रयोग वस्तुमा नयाँ मिति राख्ने गरेको भेटिएपछि गोदाममा सिलबन्दी गरी सञ्चालकसहित तीनजनालाई प्रक्राउ गरिएको थियो । पक्राउ परेका तीनजनालाई जनही १५–१५ लाख धरौटीमा रिहा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय