रियाद– लामो समयदेखि विद्यालय जान नपाएका साउदी अरबका विद्यार्थीहरु आइतबारदेखि जान थालेका छन् । अनलाइनमार्फत बढिरहेका विद्यार्थीहरु अहिले भने भौतिक रुपमै विद्यालय उपस्थित भएर अध्ययन गर्न थालेका हुन् । योसँगै नयाँ शैक्षिक सत्रसमेत सुरु भएको जनाइएको छ ।

गत १७ महिनादेखि घरमै पढिरहेका ती विद्यार्थीहरु विद्यालय गएर पढ्न पाएपछि खुसी व्यक्त गरेका छन् ।

घरमै बसेर अनलाइनमार्फत भइरहेको पढाइमा गुणस्तर नभएपछि र कोरोना भाइरसको महामारी पनि कम हुँदै गएपछि भौतिक रुपमै अध्ययन अध्यापन सुरु गरिएको हो ।
शिक्षा अधिकारीहरुका अनुसार अहिले १२ वर्ष पूरा भएका वा सोभन्दा बढी उमेरका बालबालिकालाई मात्रै विद्यालय आउन दिने व्यवस्था गरिएको छ ।

प्राथमिक विद्यालय तह र पूर्वप्राथमिक तहका विद्यार्थीहरुलाई भने अझै पनि विद्यालय आउन अनुमति दिइएको छैन ।

‘कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा नलगाएको र १२ वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई विद्यालय अझै पनि खुला गरिएको छैन,’ एक अधिकारीले भने ।

उनीहरुलाई नयाँ शैक्षिक सत्रमा पनि अनलाइनमार्फत नै अध्यापन गराइने अधिकारीहरुले जानकारी दिएका छन् । भौतिक उपस्थितिमै भइरहेका अध्ययन अध्यापनको कार्यको उप शिक्षामन्त्री साद बिन साउद अल फहिदले कतिपय विद्यालयहरुमा स्थलगत अवलोकन पनि गरेका छन् ।

उनीहरुको स्वास्थ्य सुरक्षाको सुनिश्चितता हुने गरी उच्च सतर्कता अपनाउन उनले सबैलाई निर्देशन दिएका छन् । ‘हामीले सबै विद्यालयलाई नजिकबाट निकालिरहेका छौं, विद्यार्थीको सुरक्षाको अवस्था र विद्यालयको व्यवस्थापनका बारेमा हाम्रो चासो छ,’ उनले भने ।

विद्यालयमा विद्यार्थीको प्रवेश, बस्ने–बाहिरिने व्यवस्था लगायतमा विषेश ध्यान दिन सरकारी अधिकारीहरुले आग्रह गरेका छन् ।

विद्यालयका सबै गतिविधिमा सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई विशेष सर्तक गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय