काठमाडौं– एसियन कंक्रिटोबाट उत्पादित निर्माण सामग्रीले नेपाल गुणस्तर चिह्न पाएको छ । नवलपरासीमा जर्मन प्रविधिको कारखाना स्थापना गरी कर्बस्टोन र इन्टरलक ब्लक उत्पादन गर्दै आएको कम्पनीले वैशाख ७ गते नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिह्न पाएको कम्पनीका अध्यक्ष मनिष रुंगटाले जानकारी दिए ।

‘नेपालमा यस्ता किसिमका मापदण्ड बनिनसकेको अवस्थामा हामीले अन्तर्राष्ट्रिय मापदण्डलाई अनुशरण गरेर विभिन्न सामग्री बनाइरहेका थियौं,’ कम्पनीका उत्पादन गुणस्तर चिह्न पाएको बारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा रुगंटाले भने, ‘तर नेपाल सरकारले यससम्बन्धी मापदण्ड बनाएपछि एसियन कंक्रिटोले गुणस्तर चिह्न लिएर सोही अनुरुप उत्पादन गर्दै आएको छ ।’

हाल उद्योगले विभिन्न ३० थरी सामान उत्पादन गर्दै आएको कम्पनीका निर्देशक अनिल जटियाले जानकारी दिए । यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो उत्पादन रहेको उनले जानकारी दिए ।

कर्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८० देखि ९० प्रतिशतसम्म खपत हुने गरेको छ । सरकारले गुणस्तर चिह्न पाएको उत्पादन मात्रै प्रयोग गरेमा सरकारको वार्षिक मर्मतसम्भारमा हुने अर्बौं रुपैयाँ जोगिने कम्पनीका उपाध्यक्ष श्यामल झाले बताए ।
झाले भने, ‘अब नेपालमै सरकारद्वारा बनाइएको मापदण्ड पालना गरेर गुणस्तरीय कार्बस्टोन र इन्टरलक ब्लक बन्न थालिसकेका कारण सरकाले पनि अब बन्ने पूर्वाधारमा गुणस्तर चिह्न पाएका उत्पादन प्रयोग गर्ने योजना बनाउनु पर्छ ।’

उक्त उद्योगले उत्पादन गरिरहेको कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग हुन्छ । इन्टरलक ब्लक फुटपाथदेखि सहरी क्षेत्रका भित्री सडक बनाउन समेत काम लाग्ने कम्पनीले जनाएको छ । गुणस्तरीय इन्टरलक ब्लकबाट भित्री तथा सहरका सडक बनाउन सकिने कम्पनीको भनाइ छ । इन्टरलक ब्लकबाट बनेका सडक टिकाउ, दिगो र वातावरणमैत्री हुने र मर्मत खर्च कम लाग्ने झाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय