काठमाडौं– बहुसंख्यक नेपालीले नामै नसुनेको मुलुक सेन्ट किट्टस एन्ड नेभिस नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आउने तेस्रो ठूलो स्रोत रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६–७७ अनुसार भारत र चीनपछि उक्त मुलुकबाट नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।

प्रतिवेदन अनुसार २०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी ६२ अर्ब ४५ करोड र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किट्टस एन्ड नेभिसबाट १५ अर्ब २७ करोड लगानी आएको छ । चौथो नम्बरमा रहेको आयरल्यान्डबाट १२ अर्ब ९३ करोड र पाँचौं नम्बरको सिंगापुरबाट १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको उक्त अध्ययनले देखाएको छ ।

औद्योगिक क्षेत्र अन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको प्रतिवेदनले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त बैंक अन्तर्गतको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन तयार गरेको हो ।

उक्त प्रतिवेदन आर्थिक वर्ष २०७६–७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६–७७ नाम दिइएको प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७६–७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १९८ अर्ब ५२ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको हो ।

सेन्ट किट्टस एन्ड नेभिस एटलान्टिक र क्यारेबियन क्यारेबियन सागरको बीचमा रहेको जम्मा १७६ वर्ग किलोमिटर क्षेत्रफल भएको टापु मुलुक हो । यसको राजधानी बास्सेटेरे हो ।

उक्त मुलुक ट्याक्स हेभन हो । यस्ता मुलुकमा आम्दानीमा कर तिर्नु नपर्ने हुँदा आम्दानीको स्रोत पनि देखाउनु पर्दैन । अवैध तरिकाले धन आर्जन गर्नेहरुले कालो धन यस्तै मुलुकमा पुर्याउँछन् र त्यही धन वैदेशिक लगानीका रुपमा विभिन्न मुलुकमा पुग्छ । जसले कालो धनलाई चोख्याउन मदत गर्छ ।

जानकारहरुका अनुसार उक्त लगानी वैदेशिक लगानी नभएर नेपालीले नै अवैध तरिकाले आर्जन गरेको सम्पत्ति हो । नेपालमा कालो धन आर्जन गर्नेहरुले त्यहाँ लगेर चोख्याएर विदेशी लगानीको रुपमा नेपाल फर्काएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय