काठमाडौं– इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले दसैं अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो ।
कम्पनीको दसैं अफरमा प्रयोगकर्ताले मासिक ११ सय रुपैयाँमै ४० एमबिपिएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । यसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । ६ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दसैं अफरमा सहभागिता जनाउन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
निकै लामो समयपछि वर्ल्डलिंकले ल्याएको ६ महिने प्याकेजको मूल्य ७९ सय रुपैयाँ राखिएको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटिभी सहित ४० एमबिपिएस गतिको इन्टरनेटका लागि मासिक १३ सय १७ रुपैयाँ पर्नेछ । त्यस्तै, कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२ सय रुपैयाँमै दुईवटा नेटटिभी सहितको ६० एमबिपिएस इन्टरनेट प्याकेज समेत ल्याएको छ । यही प्याकेज ६ महिनाका लागि किन्ने ग्राहकलाई भने मासिक १४ सय ३४ रुपैयाँ पर्नेछ ।
यसअघि ४० एमबिपिएस र ५० एमबिपिएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबिपिएस र एक सय एमबिपिएसको इन्टरनेट प्याकेज लिन सकिनेछ । जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १४ सय रुपैयाँमै दुइटा नेटटिभीसहित वर्ल्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । यस्तै, तीनटा नेटटिभी सहित एक सय एमबिपिएसको इन्टरनेट प्याकेजको मासिक १६ सय रुपैयाँ पर्नेछ । ८० एमबिपिएस र सय एमबिपिएस इन्टरनेट प्याकेजको ६ महिने सब्सक्रिप्सनमा समेत दसैं अफर लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दुइटा नेटटिभी सहित ८० एमबिपिएसको ६ महिने सब्सक्रिप्सनको मूल्य १० हजार एक सय रुपैयाँ र तीन नेटटिभी सहितको सय एमबिपिएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार पाँच सय रुपैयाँमा पाइन्छ छ ।
कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडान सहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधा समेत उपलब्ध गराउनेछ । जसमा ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई–फाई रोमिङ र नेटटिभी प्राइम सब्स्क्रिप्सन प्राप्त हुनेछ ।
वर्ल्डलिंकले देशका ११ हजारभन्दा बढी स्थानमा फ्री वाइफाई जडान गरेको छ । जसमा अन्य प्रयोगकर्ताले दैनिक पाँच सय एमबिसम्मको डेटा मात्र निःशुल्क रुपमा प्रयोग गर्न पाउँछन् । तर वर्ल्डलिंकका ग्राहकले त्यस्ता स्थानमा अनलिमिटेड वाइ–फाई सुविधा प्रयोग गर्न पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।









