काठमाडौं– कोरोना महामारीको बेला थर्मल गनमा कालोबजारी गरेर निजी क्षेत्रकै प्रतिष्ठा धमिल्याउने काम गरेका शुलभ अग्रवाल सम्बद्ध कम्पनीको गैरकानुनी धन्दा अझै नरोकिएको पाइएको छ ।

शुलभ अग्रवालको पारिवारले सञ्चालन गरिरहेको शंकर ग्रुप अन्तर्गतको जगदम्बा अटो ग्रुप प्रालि पछिल्लो समय तीनपांग्रे टेम्पोको पार्टपुर्जा भन्दै चेचिस र इन्जिन भित्र्याएर राजस्व छलीमा संलग्न रहेको पाइएको हो ।

भारतबाट इन्जिन र चेसिस सहितको उक्त सवारी साधन आयात गर्दा ३० प्रतिशत भन्सार, ५५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लाग्ने तर पार्ट्स भनेर आयात गर्दा अन्तः शुल्कमा ५० प्रतिशत छुट हुने भएकोले कम्पनीले पार्टपुर्जा भन्दै इन्जिन र चेसिस भित्र्याएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

राजस्व छलेको पुष्टि भएपछि जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडलाई वीरगन्ज भन्सार कार्यालयले जरिवाना गरेको छ । कम्पनीले भारतबाट तीनपांग्रे टेम्पोका सामान आयातमा कम राजस्व तिरेको पुष्टि भएपछि १३ लाख ८० हजार जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताएका छन् ।

भारतको चेन्नईस्थित टिभिएस कम्पनीबाट जगदम्बाले आयात गर्ने गरेको तीनपांग्रे टेम्पोको पार्ट्स भनेर एकीकृत जाँच चौकी वीरगन्जबाट भन्सार जाँच पास गराई चेसिस र इन्जिनसहितको टेम्पोका विविध सामग्री एक साताअघि आयात गर्न लागेको थियो ।

छड्के जाँचका क्रममा अनुसन्धानको दायरामा आएको उक्त सामग्रीबारे थप अनुसन्धान गरी कारबाहीस्वरूप छुट रकम लिएर जरिवाना गरिएको प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले जानकारी दिए ।

जगदम्बा अटो ग्रुपले बाराको सिमरामा उद्योग खोलेर टिभिएस बाइक र तीनपांग्रे एसेम्बल गर्ने गरेको छ । उद्योगले भारतबाट ती गाडीका पार्टपुर्जा अलगअलग आयात गरी यहाँ एसेम्बलिङ गर्नुपर्नेमा बाहिरी भागका केही सामान खोलेर पार्ट्स मात्रै आयात गर्ने गरेको भनेर भन्सार जाँचपास गराई इन्जिन, चेसिससहितको टेम्पो आयात गर्ने गरेको होे ।

सवारी साधनको पार्ट्स आयात गर्दा सिकेडी भनेर भन्सार जाँचपास हुने गरेको थियो । एक साताअघि जगदम्बा गुप्रले सिकेडी भनेर ३४ लाख ५७ हजार १४१ बराबरको सवारी साधनको पार्ट्स भनेर भन्सार जाँचपास गराई ३० लाख १५ हजार ९९६ राजस्व बुझाएको भए पनि कार्यालयले गरेको निर्णय अनुसार जरिवाना बापत थप १३ लाख ८० हजार जगदम्बाले बुझाएको भन्सारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय