काठमाडौं– निरन्तर घटिरहेको सेयर बजार मंगलबार पनि ७० बिन्दुले घटेको छ । सबै समूहका सूचक ओरालो लाग्दा नेप्सेमा ७० बिन्दुको गिरावट आएको हो ।
अघिल्लो दिन सोमबार नेप्से ७३.०५ बिन्दुले तल झरेको थियो । मंगलबार बजार बन्द हुँदा नेप्से २६१५.४० कायम भएको छ । २१८ कम्पनीको १३ करोड ३४ लाख ८ सय २८ कित्ता सेयर ५ अर्ब ७४ करोड ४५ रुपैयाँमा किनबेच भएको छ ।
यस दिन सबैभन्दा बढी जीवन बिमा समूह ४३१, निर्जीवन बिमा समूह ३२५, हाइड्रोपावर १३८, विकास बैंक १५४, फाइनान्स १७५, माइक्रोफाइनान्स १११, उत्पादन ८९ र व्यापार समूहको उपसूचक ७९ बिन्दुले घटेको छ ।
तैपनि मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी, मेगा बैंक र बोटलर्स नेपाल लिमिटेडका सेयरधनीले भने कमाएका छन् ।









