काठमाडौं– आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।

संस्था सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले सोही असोज १४ देखि लागू हुने गरी उनलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

संस्थाको केन्द्रीय कार्यालय बनेपामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको संस्थाले जनाएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् र बैंक तथा वित्तीय संस्थामा १७ वर्ष काम गरेको अनुभव रहेको विज्ञप्तिमा उल्लेख छ ।

निर्धन उत्थान बैंकबाट शाखा प्रमुखको रुपमा काम सुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराइज बैंक, एनआइसी एसिया बैंकमा विभिन्न विभागका साथै एनआइसी एसिया बैंकको सहायक कम्पनी एनआइसी एसिया लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । शर्मासँग आक्रामक व्यवसाय विस्तार र गुणस्तर व्यवस्थापनमा विशेष दख्खल रहेको संस्थाले जनाएको छ ।

आरम्भ चौचारीले ७ प्रदेशका ५२ जिल्लामा १३७ वटा शाखामार्फत ८७ हजार सदस्यलाई वित्तीय सेवा दिइरहेको जनाएको छ । संस्थाले ४८ हजार ऋणीलाई ४ अर्ब ७८ करोड कर्जा लगानी र १ अर्ब ३६ करोड निक्षेप संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय