काठमाडौं– सेयर बजारको सूचक ओरालो लाग्दै गर्दा कारोबार रकम पनि खुम्चिएको छ । आइतबार सेयर बजारको तथ्यांकीय मापक नेप्से ५५.९३ बिन्दुले घटेर बजार बन्द हुँदा २५७७.५० कायम भएको छ ।
अघिल्लो कारोबार दिन (बिहीबार) नेप्से ३२.५१ बिन्दुले घट्दा कारोबार रकम पौने चार करोडमा सीमित भएको थियो । आइतबार त्यो पनि घटेर तीन अर्ब ११ करोडमा सीमित भएको छ ।
यस दिन दिनभर १८६ कम्पनीको धितोपत्र किनबेच भएकोमा १७३ कम्पनीको मूल्य ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । ११ वटाको मूल्य बढेको र दुईवटाको मूल्य अघिल्लो दिनको तुलनामा घटबढ केही नभएको नेप्सेको रेकर्डले देखाउँछ ।
ओरालो लागेको बजारमा पनि मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले भने झण्डै १० प्रतिशत कमाएका छन् । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९.९७ प्रतिशतले बढेको छ ।
यस दिन ९ प्रतिशतभन्दा बढी गुमाउनेमा गुहेश्वरी मर्चेन्ट फाइनान्स र रैराङ हाइड्रोपावरका लगानीकर्ता परेका छन् ।









