काठमाडौं– निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पुँजी बजारमा पछिल्लो समय देखिएको गिरावटप्रति चासो व्यक्त गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न पाँच कारणले दोस्रो बजारमा सेयरको मूल्य घटेको जनाएको छ ।
‘मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिस्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रस्टता आवश्यक रहन्छ,’ महासंघको विज्ञप्तिमा भएिको छ, ‘केही समययताको नीतिगत अस्थिरताका कारण पुँजी बजारमा उतारचढाव आएको महसुस गरिएको छ ।’
महासंघका अनुसार मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायको हस्तक्षेप, बैंक–वित्त र बिमा कम्पनीको लगानी सीमा संकुचन र सेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्दा सेयर बजार प्रभावित भएको हो ।
त्यसैगरी, सूचीकृत कम्पनीलाई आवश्यकता अनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी संकलन गर्न रोक लगाउनु, विद्युत् नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरिदबिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नुपर्ने जस्ता नीतिगत परिवर्तनले सेयर बजार प्रभावित भएको महासंघले जनाएको छ ।
‘सेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो सातायता समग्रमा पुँजी बजार ओरालो लागेको देखिन्छ,’ महासंघले भनेको छ, ‘यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिन्छ । उक्त नीतिगत व्यवस्थाको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीको माग रहेको छ ।’
पुँजी बजारसम्बन्धी नीति नियम बनाउँदा सरोकारवालासँग पनि छलफल र विमर्श गर्न महासंघ सम्बन्धित सबैमा महासंघले आग्रह गरेको छ ।
महासंघले पुँजी बजारमा जोखिम पनि हुने भन्दै लगानीकर्तालाई आफूले कारोबार गर्न खोजेको कम्पनीबारेको वित्तीय लगायत आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न सुझाएको छ । ‘यसैगरी, संस्थागत लगानीकर्ताको संख्या विस्तार पनि आवश्यक छ,’ महासंघले भनेको छ ।
बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयां लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघले आग्रह गरेको छ ।
महासंघको विज्ञप्तिमा भनिएको छ, ‘पुँजी बजारकोे विकास एवं प्रवर्द्धनमा नियामक निकाय लगायत अन्य सरोकारवालाको सकारात्मक भूमिका आवश्यक हुने हुँदा त्यसपर्तm सबैले योगदान गर्न पनि महासंघ सबैको ध्यानाकर्षण गराउँदछ ।’









