काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार बढ्दा इन्धन आपूर्तिमा एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५.५८ अमेरिकी डलर पुगेको छ । पछिल्लोपटक अक्टोबर १६ मा इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमको घाटा थप बढ्ने देखिएको छ । गत असोज ३० गते आइओसीबाट प्राप्त खरिद मूल्यअनुसार निगमको पाक्षिक घाटा दुई अर्ब २२ करोड नाघ्ने प्रक्षेपण गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

आइओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७७ पैसाका साथै डिजेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ नौ पैसा वृद्धि भएको छ । अक्टोबर १६ मा प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँ सात पैसा, डिजेल प्रतिलिटर ७८ रुपैयाँ २८ पैसा र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७३ रुपैयाँ २४ पैसा पुगेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डिर एक हजार ३७५ रुपैयाँ दुई पैसा कायमै छ । आइओसीले पछिल्लो १५ दिनमा एलपी ग्यासको मूल्य बढाएको छैन ।

पेट्रोलको खरिद मूल्य सम्पूर्ण सरकारी कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) गरी ५६ रुपैयाँ ९८ पैसा, डिजेल ३९ रुपैयाँ ६६ पैसा, मट्टितेल १९ रुपैयाँ ६९ पैसा, आन्तरिक हवाई इन्धन १३ रुपैयाँ ११ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धन चार रुपैयाँ ६८ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर २५० रुपैयाँ ८१ पैसा अतिरिक्त शुल्क लाग्ने गर्छ ।

पेट्रोलमा निगमको सम्पूर्ण खर्च एक रुपैयाँ ९६ पैसा, डिजेलमा एक रुपैयाँ ५६ पैसा, मट्टीतेलमा एक रुपैयाँ ४६ पैसा, आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४५ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४३ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ११ रुपैयाँ ३८ पैसा जोडिएको छ ।

ढुवानी भाडा र बिक्रेताको मुनाफा गरी पेट्रोलको कूल लागत मूल्य प्रतिलिटर १४५ रुपैयाँ एक पैसा, डिजेलको प्रतिलिटर १२७ रुपैयाँ १६ पैसा, मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ ४१ पैसा, आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर ९० रुपैयाँ ५६ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ८२ रुपैयाँ १३ पैसा र एलपी ग्यासको लागत मूल्य प्रतिसिलिन्डर एक हजार ९६१ रुपैयाँ ८८ पैसा रहेको छ ।

काठमाडौंमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० रुपैयाँ तोकिएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८६, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ०.७७० अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ४५० रुपैयाँ तोकिएको छ ।

पेट्रोल बिक्री निगमलाई प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेल बिक्रीमा १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीमा प्रतिलिटर चार रुपैयाँ ५६ पैसा र एलपी ग्यास बिक्रीमा प्रतिसिलिन्डर ५११ रुपैयाँ ८८ पैसा घाटा हुनेछ । मट्टीतेल र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा मात्र निमगलाई सामान्य नाफा छ ।

निगमलाई मट्टीतेलको बिक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रीबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ । १५ दिनमा पेट्रोल बिक्रीबाट ४० करोड ५३ लाख, डिजेल बिक्रीबाट एक अर्ब नौ करोड, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट ११ लाख र एलपी ग्यास बिक्रीबाट ७५ करोड ७० लाख गरी दुई अर्ब २२ करोड ६ लाख घाटा हुने निगमको प्रक्षेपण छ ।

१५ दिनमा मट्टितेल बिक्रीबाट दुई करोड ३३ लाख र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन बिक्रीबाट ९५ लाख नाफा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्री न्यून भएकाले घाटा पूर्तिमा खासै प्रगति हुन नसक्ने निगमको भनाइ छ ।

विश्व बजारमा भइरहेको इन्धनको मूल्य वृद्धिले निगमको घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ । विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरिद मूल्यमा भएको वृद्धिले चुनौती थपेको छ । ६–७ वर्षअघिको ३७ अर्ब ऋण तिर्दै निगम विस्तारै नाफामा गएको थियो । गत आवमा निगम फेरि करिब तीन अर्ब घाटामा गएको छ । पछिल्लो तीन महिनामा निगम ६ अर्ब घाटामा गएको प्रवक्ता उपाध्यायले बताए ।

निगम चर्को घाटामा गइरहँदा पेट्रोलियम आपूर्तिमा व्यवधान खडा हुनसक्ने आशंका गरिएको छ । निगम लगातार घाटामा गइरहेको अवस्थामा यसले आपूर्ति व्यवस्थामा पनि असर पार्न सक्ने निगमका अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय