काठमाडौं– पूर्ववर्ती सरकारले राजनीतिक कोटामा नियुक्त गरेका ११ राजदूतलाई फिर्ता बोलाएको सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय मन्त्रिपरिषको आजको बैठकले गरेको जानकारी दिए ।
बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाई हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ । यस्तै बैठकले दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूलन योजना ९२०२१–२०५०० र जलवायु परिवर्तन र त्यसको असर प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको पनि उनले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद्ले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने तथा नेपाली सेनाको उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्रांकित विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।









