काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार फरेन एक्सचेन्ज डेरिभेटिभ मार्केट इन नेपाल विषयक अध्ययन सम्पन्न गरी प्रतिवेदन प्रकाशन गरेको छ । उक्त अध्ययनले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा रहेको देखाएको छ ।

अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवं नियमनकारी ढाँचाको अवस्था र बजारको स्थितिबारे विश्लेषण गरेको छ । यसका अतिरिक्त अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारेमा पनि छोटकरीमा विश्लेषण गरेको राष्ट्र बैंकले जनाएको छ ।

सार्क मुलुकमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । सर्वेक्षण नतिजाअनुसार नेपालमा सबै वाणिज्य बैंकहरू फर्वार्ड मार्केटमा संलग्न रहेको र आधाजसो बैंकहरू स्वाप्स कारोबारमा संलग्न रहेको देखिएको छ ।

‘८१ उत्तरदाता गैरवित्तीय फर्महरू (११५ फर्महरूलाई प्रश्नावली सोधिएको) मध्ये १४.८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको देखिन्छ, जसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्महरू रहेका छन्,’ राष्ट्र बैंकको विज्ञप्तिमा भनिएको छ, ‘दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको भन्ने फर्महरू ३७ प्रतिशत रहेको र विदेशी विनिमय जोखिम रहेको भन्ने बाँकी फर्महरूमध्ये ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ ।’

तरलता, बजार सहभागिता, कानुनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा हेर्दा नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको अध्ययनबाट देखिएको राष्ट्र बैंकको भनाइ छ । विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने अवस्था छ ।

हालको ओभर द काउन्टर (ओटिसी) मार्केट लाई अझ सशक्त बनाउँदै हेजिङलाई सहजता प्रदान गर्न र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न लङ टर्म फर्वार्डस, स्वाप्स, अप्सन्सलाई प्रवर्द्धन गर्नुपर्ने अध्ययनको निष्कर्ष रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय