काठमाडौं– बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल कर्जाको ५६.६ प्रतिशत वाग्मती प्रदेशमा केन्द्रित भएको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययन अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामध्ये आधाभन्दा बढी वाग्मतीमा लगानी भएको हो ।
कुल निक्षेप परिचालनमा वाग्मतीको योगदान ६८.१ प्रतिशत देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन र कर्जा प्रवाहमा सबभन्दा कम कर्णाली प्रदेश देखिएको छ । आर्थिक वर्ष २०७७–७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा ३४ र सबैभन्दा कम कर्णाली प्रदेशमा चार प्रतिशत छ ।
अध्ययन प्रतिवेदनले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखाएको छ । उक्त अध्ययनले सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको पहुँच वाग्मती बाहेकका प्रदेशमा उत्साहजनक रूपमा बढेको देखिएको छ ।
वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए तापनि यो अध्ययन प्रतिवेदन अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको छ ।









