काठमाडौं– पछिल्ला दिनमा बिमा क्षेत्रमा विकृति तथा विसंगति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बिमा समितिले सम्बद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ ।
गलत मनसायका साथ बिमा दाबी भुक्तानी परेको भन्ने व्यापक गुनासो आएपछि समितिले आज एक सूचनामार्फत गलत काम नरोकिए कारबाही गर्ने चेतावनी दिएको हो । ठगी गर्ने नियतले बिमा दाबी भुक्तानी गर्ने प्रयास भएको पाइएको भन्दै समितिले भनेको छ, ‘बिमाको नाममा किर्ते र जालसाजीपूर्ण कागजात तथा बेहोरा पेस गरी ठगी लगायतका कसूर गर्ने गरेको पाइएको छ ।’
कीर्ते कागजातका आधारमा बिमालेख तयार गर्ने तथा हुँदै नभएका घटनाको समेत गलत विवरण पेस गरी ठगी गर्ने नियतका साथ भुक्तानीको प्रयास भइरहेको पाइएको समितिले जनाएको छ । समितिले कानुन विपरीतका त्यस्ता प्रयासले बिमा व्यवसायमा नकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै यस क्षेत्रप्रति जनविश्वास घट्न नदिन सरोकावाला सबै पक्षको ध्यानकर्षण गराएको छ ।
गलत क्रियाकलपामा संलग्न नहुन बिमा कम्पनी, कम्पनीका कर्मचारी, बिमा अभिकर्ता, बिमा सर्भेयर लगायतलाई समितिले आग्रह गरेको छ ।









