काठमाडौं– यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन नेपाल विद्युत् प्राधिकरणले अनुमान गरेभन्दा निकै कम बिजुली माग भएको छ । यस दिन विद्युत्को उच्च माग (पिक डिमान्ड) १२७० मेगावाट पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो ।

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमान्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमान्ड १४७ मेगावाट बढी हो ।

विगत वर्षहरुमा लक्ष्मीपूजाको माग धान्न विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको प्राधिकरणले जनाएको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ ।

यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमान्ड २९६ मेगावाट थियो ।

चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमान्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमान्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत् माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमान्ड हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।

यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्नसफल भएको प्राधिकरणले दाबी गरेको छ । प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय