काठमाडौं– मुलुकको सुनचाँदी बजारमा सोमबार सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन (बिहीबार) ९१ हजार रुपैयाँ प्रतितोलाको हिसाबमा कारोबार भएको छापावाल सुन सोमबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ । तिहार बिदा सुरु हुनुअघि बिहीबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा सुन कारोबार भएको थियो । त्यसपछि तिहार बिदा सुरु भएको र सोमबार मात्र कार्यालय खुलेकोले संघले सोही दिन नयाँ मूल्य सार्वजनिक गरेको हो ।

सोमबार चाँदीको मूल्य बिहीबारको तुलनामा २५ रुपैयाँले बढेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस एक हजार ८१९.७३ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय