लन्डन– नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाईले बैवाहिक जीवन सुरु गरेकी छिन् । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवकसँग विहे गरेको एजेन्सीहरुले जनाएका छन् ।

उनले आफ्नो बैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मंगलबार बेलायतको बिर्मिङ्घममा भएको जानकारी दिएकी छिन् ।

तालिबान विद्रोहीहरुको आक्रमणकै कारणले असुरक्षा महसुस गरी उनी बेलायतमा बस्दै आएकोले बेलायतमा बैवाहिक कार्यक्रम भएको हो । सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षीया मलालाले सबैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गरेकी छिन् ।

‘मैले मेरो नयाँ जीवन सुरु गरेको छु । यो मेरो जीवनको ठूलो अवसर हो । असेर मलिक मेरो जीवनसाथी बन्नुभएको छ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन् ।

इस्लामिक परम्पराअनुसार बिवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ । उनले अहिले निकाह गरेकी हुन् । यसको कानुनी हैसियत भने रहँदैन । महिला अधिकारको पक्षमा लागेको र मुिस्लम छात्रालाई पढाएकोप्रति रुष्ट हुँदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए ।

पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीले मलाला चढेको स्कुल बसमा हमला गर्दा उनीसहित तीनजना घाइते भएका थिए । त्यसपछि उनको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाइन् । उनी अहिलेसम्म नोवेल पुरस्कार पाएका व्यक्तिमध्ये सबैभन्दा कान्छी हुन् । राजनीतिशास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी उनले विश्वभरी मानवअधिकारकर्मीको पहिचान बनाएकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय