पोखरा– अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौंं सडक यात्रालाई दुई घन्टामा छोट्याउने योजना भएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले कास्कीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले यसको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।

‘पोखरा काठमाडौंलाई २ घन्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङमार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ,’ उनले भने, ‘पोखरा–काठमाडौं सडक मार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना छ ।’

मन्त्री शर्माले सरकारले अन्तर्राष्ट्रिय स्तरका सडक बनाउन नक्सांकन गर्ने योजना बनाएको बताए । उनले संघीय सरकारले गर्नुपर्ने, प्रदेशले गर्नुपर्ने र स्थानीय तहले बनाउनुपर्ने सडकहरुको नक्सांकन गर्न लागिएको जानकारी दिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने गरी काम अघि बढाउने पनि बताए ।

मन्त्री शर्माले सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको पनि बताए । ‘कार्यमैत्री वातावरण निर्माण गर्ने गरी ऐन संशोधनको गृहकार्य भइरहेको छ । पोखराको भौतिक पूर्वाधारको विकासको आवश्यकता, चक्रपथ निर्माण लगायतको विषयमा संघीय सरकार सकारात्मक छ,’ शर्माले भने ।

अहिले दुई हजार मेगावाट मात्र विद्युत हुँदा पनि ५ सय मेगावाट खेर जाने चिन्ता छ भन्दै शर्माले १० हजार मेगावाट विद्युत् नेपालमै खर्च गर्ने योजना चाहिने बताए । अर्थमन्त्री शर्माले नेपालमा १५–१८ वटा फलाम उद्योग चल्न सक्ने अवस्था रहेको र धौवादी लगायतका फलाम खानी सञ्चालनमा ल्याउनुपर्ने बताए । ‘निर्माणको क्षेत्रमा हामी केही समयमै आत्मनिर्भर हुन सकिने अवस्था छ,’ उनले भने ।

उद्योगी, व्यवसायीहरुले कोभिड–१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्ने गरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको ब्याजदर घटाउपनुपर्ने, पोखरा विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्ने लगायतका माग राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय