काठमाडौं– गत असोज मसान्तमा विदेशी विनिमय सञ्चिति असार मसान्तको तुलनामा पौने ६ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १३९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति असोज मसान्तमा १३१९ अर्ब ३२ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ असोज मसान्तमा ६.५ प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा ८.० प्रतिशतले कमी आई ११४५ अर्ब २९ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७८ असोज मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई १७४ अर्ब ३ करोड पुगेको छ । २०७८ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.१ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
आर्थिक वर्ष २०७८–७९ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । २०७८ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु क्रमशः ३०.९ प्रतिशत, ६४.७ प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।









