काठमाडौं– नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुंगा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ ।
४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एक–डेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दसैं, तिहार छठलगायत चाडपर्वका कारण निर्माणको गति कम भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । गत साता निर्माणस्थलमा एकजना कामदारको मृत्यु भएकाले निर्माण एक साता अवरुद्ध थियो । अहिले चाडपर्व पनि सकिएको र कामदारसँग सहमति भएकाले निर्माणले गति लिने उनको भनाइ छ ।
पहिले तोकिएको कार्ययोजनाभन्दा अहिले एक महिना ढिला भएको छ । गत वर्ष कोभिडका कारण काममा बाधा पुगेकाले केही ढिलाइ भएको हो । निर्माण कम्पनीले तोकिएकै समयमा सक्ने प्रतिबद्धता जनाएको प्रमुख शाक्यको भनाइ छ । ‘४२ महिनाबाट एक–दुई महिना नै थप्नुपर्ने भए पनि अहिलेको काम हेर्दा त्योभन्दा बढी नलाग्ने देखिन्छ,’ उनले भने ।
निर्माण कम्पनीले अहिले मुख्य सुरुङ निर्माणसँगै ‘फ्लाई ओभर, ‘अन्डर पास’, पहुँच सडक, खानेपानी लगायतका संरचना निर्माण गरिरहेको छ । विगतमा जग्गा प्राप्ति गर्न केही समस्या देखिएको भए पनि अहिले समाधानको चरणमा रहेको उनले बताए ।
अरु संरचनामा ‘फ्लाई ओभर’को निर्माण सुरु भइसकेको छ । जग्गा प्राप्ति गरिसकेको ठाउँमा सुरु गरिएको र जग्गा प्राप्त गर्न बाँकी ठाउँमा प्राप्त भएपछि काम गरिने प्रमुख शाक्यले बताए । सुरुङ खनिसकेर ‘ब्रेक थ्रु’ गर्ने र खनिसकेको ठाउँमा स्तरोन्नति सँगसँगै हुनेछ । अरु सबै निर्माण सकिएपछि मात्रै सिस्नेरी खोलामा सर्भिस सेन्टर निर्माण हुने आयोजनाले जनाएको छ ।
‘सुरुङभित्र सबै काम सँगसँगै अघि बढाइए पनि सुरुङभित्र सिसी क्यामरा, बत्ती हाल्नेलगायतका काम पछि हुन्छ,’ उनले भने । अहिले चार टोलीले सुरुङ खनिरहेको छ ।
आयोजनाले एउटा ‘अण्डर पास’ सकिएको र एउटा सुरु गर्न लागिएको छ । धादिङमा ‘अन्डर पास’ सकियो । काठमाडौंको ‘ओभर पास’को निर्माण सम्पन्न भएको छ । अहिलेसम्म केही पुल निर्माण सकिएको छ ।
अहिलेसम्म ८१२ मिटर सुरुङ खनिएको छ । काठमाडौं जिल्लातर्फ मुख्य सुरुङमा २८३ मिटर र धादिङतर्फ मुख्य सुरुङतर्फ २८० मिटर गरी ५६३ मिटर खनिएको छ । निकासतर्फ काठमाडौंतर्फ ६६१ मिटर र धादिङतर्फ ४१८ मिटर गरी जम्मा एक हजार ७९ मिटर खनेको छ ।
धादिङतर्फको ‘बोर्किङ अडिट’ मा १२६ मिटर, क्रस प्यासेजमा ४३ मिटर खनिएको आयोजनाले जनाएको छ । प्राविधिक दृष्टिकोणबाट पाँच सय मिटरभन्दा बढी लम्बाइको सुरुङ मार्गलाई आधुनिक मानिन्छ ।









