काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिना साढे ६ खर्बको विदेशी वस्तु नेपालमा आयात भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७८–०७९ को कात्तिक मसान्तसम्ममा आयात पोहोरको तुलनामा ६१.५७ र निर्यात १०४.२९ प्रतिशतले बढेको छ ।

यो चार महिनामा ८२ अर्ब १२ करोड १२ लाखभन्दा बढीको स्वदेशी वस्तु निर्यात हुँदा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँभन्दा बढीको विदेशी वस्तु आयात भएको छ । अघिल्लो आवको पहिलो चार महिनामा ४० अर्ब २० करोड बराबरको निर्यात भएको थियो भने ४ खर्ब २ अर्ब ४९ करोड बराबरको आयात भएको थियो ।

व्यापार घाटा पाँच खर्ब ६८ अर्ब
चालु आवको चार महिनामा पाँच खर्ब ६८ अर्ब १७ करोड बराबर व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा तीन खर्ब ६२ अर्ब २९ करोड थियो । व्यापार घाटाको वृद्धिदर ५६.८३ प्रतिशत हो ।

चार महिनाको कुल वैदेशिक व्यापार सात खर्ब ३२ अर्ब ४१ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यो चार खर्ब ४२ अर्ब ६९ करोड बराबर थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको चार महिनामा ६५.४५ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।

चार महिनाको अवधिमा १३८ देशबाट ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट तीन खर्ब ८५ अर्ब ९५ करोड ७० लाखभन्दा बढीको सामान आयात भएको छ ।

चालु आवको चार महिनामा सबैभन्दा धेरै डिजेल आयात भएकोे छ । चार महिनामा ३४ अर्ब ३३ करोड २१ लाख बराबरको डिजेल आयात भएको हो । यस्तै, भटमासको कच्चा तेल २७ अर्ब २२ करोड ७१ लाख, २० अर्ब ३५ करोड ८६ लाख बराबरको मोबाइल, १९ अर्ब १७ करोड ५७ लाख बराबरको कच्चा पाम आयल, १८ अर्ब ६६ करोड ६५ लाख बराबरको पेट्रोल र १७ अर्ब ६६ करोड ४० लाख बराबरको आइरन, स्टिल आयात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय