काठमाडौं– सेयर बजारको तथ्यांकीय सूचकले घट्ने क्रम जारी राख्दा पौने चार महिनाको अवधिमा नेप्से ८४२ बिन्दुले ओरालो लागेको छ ।
आयतबार नेप्से ८८.७० बिन्दुले ओरालो लागेपछि पौने चार महिनाको गिरावटले ८४२ बिन्दु छोएको हो । आइतबार बजारबन्द हुँदा नेप्से २३६१.२७ कायम भएको छ ।

गत भदौ ३ गते ३२०३.४३ को उच्च बिन्दुमा पुगेको नेप्से पछिल्लो समय लगातार घट्दा पौने चार महिनामै ८४२ बिन्दु तल ओर्लेको छ ।

यो करिब ११ महिनाको न्यून बिन्दु हो । यसअघि गत माघ ६ गते नेप्से २३४७.७७ बिन्दुमा थियो । २२८ कम्पनीको सेयर किनबेच भएको आयतबारको बजारमा ७२ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।

आइतबार १३ वटै उपसमूहको सूचक घटेका छन् । तीमध्ये सबैभन्दा धेरै व्यापार उपसमूहको सूचक ७.४५ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैंकको ६.४१, जलविद्युत, वित्त, निर्जीवन बीमा र लगानी उपसमूहको ४ प्रतिशतभन्दा धेरैले घटेको छ । उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बिमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा छ । यो कम्पनीले आकर्षक लाभांश घोषणा गरेकाले कारोबार रकम बढेको हो । यो कम्पनीको १९ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेसनल हाइड्रोपावर र नबिल बैंकको ११–११ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

युनिलिभर नेपाल र स्वाभिमान लघुवित्तको सेयर मूल्य भने २ प्रतिशत बढेको छ । त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको १.४६ प्रतिशत र मञ्जुश्री फाइनान्सको १.१५ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी गुमाउनेमा नयाँ सारथी लघुवित्तका सेयरधनी परेका छन् । यो कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । लक्ष्मी इक्विटी फन्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय