काठमाडौं– वस्तु र सेवा निर्यातको भुक्तानी, वैदेशिक सहायता, रेमिट्यान्स, विदेशमा गरिएको लगानीको प्रतिफलको रुपमा मुलुकभित्र भित्रिने तथा आयातको भुक्तानी, विदेशी लगानीको प्रतिफल लैजाने क्रममा बाहिरिने रकमको हिसाब राख्ने देशको चालु खाता झन्डै सबा दुई खर्बले घाटामा गएको छ ।
चालु आर्थिक वर्षको कात्तिकसम्ममा नेपालको चालु खाता २२३ अर्ब १९ करोडले घाटामा रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता यस वर्ष कात्तिक मसान्तमा १ अर्ब ८८ करोडले घाटामा छ ।
बढ्दो आयात, निर्यात बढे पनि त्यसको आकार ठूलो नहुँदा पुँजीगत ट्रान्सफर आयमा कमी आउँदा चालु खाता घाटा बेपत्ता बढेको हो ।
गत साउनदेखि कात्तिकसम्ममा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आई २ अर्ब ५२ करोड कायम भएको छ राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी भने ७७ प्रतिशतले बढेर ६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड थियो ।
उक्त अवधमिा शोधनान्तर स्थिति १५० अर्ब ३८ करोडले घाटामा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ११० अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष १ अर्ब २६ करोडले घाटामा छ ।









