काठमाडौं– पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताइन् । उनका अनुसार पश्चिमी वायुको प्रभावले अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने छ ।

सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र तराईका भूभागमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नाका साथै देशभर चिसो बढ्नेक्रम रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.१ डिग्री र अधिकतम तापक्रम १७.४ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८.३ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय