काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मनत्रालयले भोलिदेखि माघ १५ गतेसमम विद्यालयहरु बन्द हुने बताएको छ ।
मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को सिफारिसमा विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी गराएको छ । सिसिएमसिसीले सोमबार कोरोना संक्रमण बढ्दै गएको भन्दै विद्यालय बन्द लगायत विभिन्न सिफारिस गरेको थियो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले सोमबार एक विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका छन् ।
मन्त्रालयले विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न निर्देशन दिएको छ । ‘बिदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनू,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, विश्वविद्यालय शैक्षिक प्रतिष्ठानको पूर्वनिर्धारित सेमेस्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले सुझाएको छ ।









